Events

पुल्चोक क्याम्पसमा लोकस प्रदर्शनी सुरु हुदै

प्रेस बिज्ञप्ति

पुल्चोक क्याम्पसमा अध्यनरत कम्प्युटर, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स ईन्जिनियरिङ् विधाका विद्यार्थीहरुको प्रयासबाट सन् २००३ मा स्थापना भएको संस्था लोकसले आफ्नो स्थापनाकालदेखि नै हरेक वर्ष प्रतियोगिता, प्रदर्शनी तथा प्राविधिक कार्यक्रमहरु मार्फत देशभरका प्राबिधिक विद्यार्थीहरुको चेतना, ज्ञान र  क्षमता अभिबृदी गर्दै आएको कुरा अबगत नै छ । हरेक वर्ष विभिन्न प्रतिस्पर्धामुलक कार्यक्रमहरु संचालन गरेर समग्रमा युवा सोंचलाई समाजमा परिवर्तन ल्याउन सक्ने किसिमको अवसर प्रदान गर्ने माध्यमको रूपमा आफूलाई परिचित गराउदै आएको छ |

देशको चौतर्फि विकासका लागि सहर मात्र नभएर ग्रामीण क्षेत्रको समेत विकास हुन आवश्यक छ । २१औं शताब्दीमा आइपुग्दा सम्म देशका धेरै क्षेत्र विकासका उज्ज्वल किरणबाट टाढै रहेको कुराबारे हामी अवगत नै छौ । ग्रामिण क्षेत्रको विकासमा प्रविधिको सहि उपयोग कसरी गर्न सकिन्छ भन्ने ज्ञान समाजसामु उतार्न लोकस लागि परेको छ। देशभर छरिएका उच्च मा. वि., ईन्जिनियरिङ् तथा अन्य प्राविधिक क्षेत्रका विद्यार्थीको प्राबिधिक ज्ञानलाई अझै सुधार्दै नयाँ खोज गर्ने तथा आफ्नो कला देखाउने अवसर लोकस-२०१९ ले दिनेछ।

लोकस-२०१९ले २०७५ माघ २४,२५ र २६ गते इ.अ.सं., पुल्चोक क्याम्पसको प्रांगणमा आफ्नो वार्षिक ३ दिने प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। यस वर्ष लोकसको विषय “ग्रामीण विकासका लागि प्रविधि” रहेको छ। जस अन्तर्गत विभन्न सेमिनार, गोष्ठी तथा कार्यक्रमहरु मुख्य प्रदर्शनी सुरुहुनु अगाडी देखि नै आयोजना भइरहेका छन् । सो ३ दिने लोकस प्रदर्शनि अवलोकन गर्न आउन इच्छुक महानुभावहरुलाई लोकस-२०१९ले स्वागत गर्दै निशुल्क प्रवेशको व्यवस्था गरेको छ |

यस बर्ष लोकसमा प्रदर्शन हुने करिब ७० प्रोजेक्टहरुलाई चार उप-शिर्षकहरु: (१) स्वास्थ्य र शिक्षा, (२) पर्यटनबाट रोजगार, (३) कृषि र खाद्य प्रविधि र (४) उर्जा प्रभावकारीता अन्तर्गत प्रदर्शनीमा राखिनेछन् । लोकसमा सहभागिता जनाई आफ्नो सिप, कला र अभिनव प्रदर्शन गर्न देशभरका विभिन्न जिल्लाहरुबाट हरेक वर्ष झैँ यस वर्ष पनि प्रबिधिक विद्यार्थीहरुको उल्लेख्य सहभागिता हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि उपत्यका विभिन्न क्याम्पस कलेज तथा उपत्यका बाहिर रहेका क्याम्पसहरु जस्तै पूर्वान्चल क्याम्पस- धरान, पश्चिमाञ्चल क्याम्पस- पोखरा र देशभर छरिएर रहेका उच्च मा. वि. क्याम्पसहरु जस्तै अमरसिंह क्याम्पस- पोखरा, हेटौडा स्कुल अफ म्यानेजमेन्ट- हेटौडा, अरनिको क्याम्पस- बिराटनगर लगायत देशैभरिका स्कुल कलेजबाट लोकसमा सहभागिता हुदै आएको छ । इस्वी सम्बत २००३मा अन्तिम बर्षको इन्जिनियरिंग प्रोजेक्ट प्रदर्शनीबाट सुरु भएको यस लोकसमा बिगतका  बर्षहरुमा उल्लेख्य संख्यामा विद्यार्थीहरु, विभिन्न कम्पनीका प्रतिनिधिहरु, उच्च पदस्थ सरकारी व्यक्तित्व, राष्ट्रिय स्तरमा चिर परिचित व्यक्तित्वहरु एवं ख्यातिप्राप्त कलाकारहरुद्वारा अवलोकन गरिएको थियो । यस पटकको संस्करणमा पनि उल्लेख्य दर्शकहरुले लोकस-२०१९ अबलोकन गर्ने अपेक्षा राखिएको छ ।

प्रदर्शनीको आकर्षणको रुपमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु जस्तै द्रोणाचार्य (विद्यार्थीहरुले बनाएका ड्रोनहरुमाझ प्रतियोगिता), रोबो वार्ज (विद्यार्थीहरुले बनाएका रोबटहरुमाझ प्रतियोगिता), रोबो लोकस (उच्च मा. वि.का विद्यार्थीहरुले बनाएका रोबटहरुमाझ प्रतियोगिता), कोड क्याम्प (कम्प्युटरबाट नयाँ सफ्टवेयर बनाउनुपर्ने प्रतियोगिता), कोड जाम (कम्प्युटरबाट कम समयमा निश्चित कार्य गर्नुपर्ने प्रतियोगिता) र विभिन्न कम्प्युटर खेलहरुको (डोटा-२, पबजी, फिफा फुटबल) प्रतियोगिता रहेको छ। विभिन्न प्रतियोगितामा विजेताहरुलाई रु ५,००० देखि रु ३०,००० सम्मका नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

इस्वी सम्बत २००३बाट सुरु भएको यस लोकसले १६औ संस्करण सम्म आइपुग्दा हरेक बर्ष नयाँ-नयाँ समय सान्दर्भिक बिषयलाई आफ्नो शिर्षक बनाएर विभिन्न विधाहरुमा विद्यार्थीहरुलाई प्रोजेक्ट गर्न उत्प्रेरित गरि देशमा नयाँ प्रबिधिको परीक्षण र बिश्लेषण गरि देशको अभिन्न अंगका रुपमा रहेका प्रबिधिक विद्यार्थीलाई देशविकाशतर्फ अभिप्रेरित गर्दै आएको छ । लोकसमा सानोतिनो स्टलबाट सुरु भएका प्रोजेक्टहरु जस्तै नेपली चलचित्र लूट-२को बिज्ञापनको लागि बनाइएको एनड्रोइड गेम “हाकु रन”, हामीले मोबाइलमा नियमित प्रयोग गर्ने “हाम्रो पात्रो”, बहुचर्चित रोबोटिक रेस्टुरेन्ट “नौलो”ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरि नेपाल जस्तो अल्पविकसित देशमा पनि प्रबिधिको ठुलो सम्भावना रहेको कुरा प्रस्ट्याउदै आएको छ ।

लोकसको १६औं संस्करणमा आइपुग्दा पनि सोहि उर्जा र सदभावका साथ भाग लिदै आउनु भएको प्रतियोगी एबं प्राबिधिप्रेमी दर्शक महानुभावहरु प्रति लोकस आभार प्रकट गर्दछ | साथै कार्यक्रमको जानकारी जनसमक्ष पुर्याउनु भई प्रबिधिको जानकारी  सम्पूर्ण मेडियालाई आग्रह गर्दछौ।

बिस्तृत जानकारीको लागि कृपया: https://locus.pcampus.edu.np/ हेर्नुहोला ।

Sushant Gautam

Mostly writes on growing tech trends, events, and future of technologies. He has a keen interest in tech entrepreneurial infrastructures and startup ecosystem of Nepal. He believes in using latest technologies in problem-solving and regularly patrols the progress in solving SDGs in developing countries. He is also a licenced amateur radio operator and ETC volunteer for disaster communication .

Leave a Reply